काठमाडौं । सुरुङबाट जीवितै उद्धार गरिएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो । दुईजनालाई सकुशल उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन हुन् । सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत रहेका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूलाई सकुशल बाहिर निकालेको थियो । त्यहाँबाट उपचारका निम्ति हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
“बाढी आएको १०औँ दिनमा भदौ १९ गते बिहान रसुवास्थित त्रिशूली–३ ‘ए’बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ,” सशस्त्र प्रहरीले भनेको छ ।
६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारी/कामदार फसेका आयोजनाले जनाएको छ ।