धादिङ । बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ।
हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। बाढी तथा त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको हो।
नागढुंगा(मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार अहिले प्रारम्भिक सरसफाइको काम सकाएर दुई लेयरको ग्याबिन हटाएपछि सडक खन्ने काम सुरु गरिनेछ। सडक पूर्णरूपमा सञ्चालनमा आउन भने केही दिन लाग्ने अनुमान गरिएको अधिकारीले बताइन्।