सरकार फिल्डमा छैन, फेसबुकमा मात्रै देखियो : भिष्मराज आङदेम्बे

सरकार फिल्डमा छैन, फेसबुकमा मात्रै देखियो : भिष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ गलत कामलाई समर्थन गर्न नसकिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राम्रो काम गर्दा साथ र समर्थन दिने बताए।

उनले भने, ‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’

सरकारलाई कमजोर नभई प्रभावकारी बनाउन प्रश्न गरिरहेको बताए। उनले थपे, ‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला। अहिले सबभन्दा बढी खट्किएको विषय खोज र उद्धार नै हो।’

सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए। सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखिएको टिप्पणी गरे। उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको भन्दै फिल्डमा भन्दा फेसबुकमा मात्रै देखिएको बताए।

उनले थपे, ‘मलाई एउटा प्रश्नले घोचिरहेको छ। यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए, परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो वाह मन्त्रीजी भन्न पोस्ट गरिराख्नुहुन्थ्यो?’