पहिचान नभएका पोखरा ल्याइएका शवको व्यवस्थापन सुरू

पहिचान नभएका पोखरा ल्याइएका शवको व्यवस्थापन सुरू

पोखरा । रसुवा बाढीमा परेर विभिन्न जिल्लामा फेला परेर पोखरा ल्याइएका पहिचान नभएका ७८ वटा शव बुधबार पोखरा- १६ दिपस्थित सेती नदी किनारमा व्यवस्थापन सुरू भएको छ । तनहुँ, गोरखा,धादिङ जिल्लास्थित त्रिशूली नदी क्षेत्रबाट र नवलपुरको नारायणी नदीबाट उद्धार गरेर १०२ जनाको शव पोखरा ल्याइएको थियो ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको शवमध्ये पहिचान नभएका ७८ जनाको शव बुधबार व्यवस्थापन भएको हो । पहिचान भएका १९ जनाको शव आफन्तलाई बुझाइको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए । 

दुईजना विदेशीजस्तो देखिन र आफन्तले आफ्नो भएको बताइएका ३ जनाको शव गरी पाँचजनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पनि कास्की प्रहरी प्रमुख कार्कीले बताए ।
पोखरा ल्याइएका सबै शवको पोष्टमार्टम र डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखेपछि पहिचान नभएका ७८ जनाको शव जमिन मुनी व्यवस्थापनको काम सुरू गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।