अपर त्रिशूली-१ मा बेपत्ता भएकाहरूको खोजी गर्न आफन्त घटनास्थलमा

अपर त्रिशूली-१ मा बेपत्ता भएकाहरूको खोजी गर्न आफन्त घटनास्थलमा

काठमाडौं । अपर त्रिशूली-१ जलविद्युत् आयोजना (२१६) मा फसेकाहरूका आफन्त हेलिकप्टरमा त्यता गएका छन् ।

आयोजनाको निर्माणस्थलमा ६ दिनदेखि थुनिएका कामदार, प्राविधिक तथा कर्मचारीहरूको तत्काल उद्धारको माग गर्दै परिवारजनले थापाथलीस्थित प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) कार्यालयमा निरन्तर दबाबपछि आज हेलिकप्टर पठाइयो ।

आयोजनाका प्रतिनिधि र पीडितका आफन्तबीच छलफल भएर आज हेलिकप्टर र रेस्क्यु टीम पठाउने सहमति भएको थियो । कम्पनीको खर्चमा सरकारसँग समन्वय गरेर आज त्यता हेलिकप्टर पठाइएको छ । हेलिकप्टरमा गएका बेपत्ताका आफन्तले त्यहाँ भइरहेको खोजउद्धार साथै वास्तविक अवस्थााबारे जानकारी लिने त्यहीँ बेपत्ता इन्जिनियर सचिन गौतमकी बहिनी अनुपा सापकोटाले बताइन् ।

हालसम्म आयोजनास्थल र आसपासका क्षेत्रबाट २५४ जनाको सकुशल उद्धार भए पनि अझै ५७६ जनाभन्दा बढी सम्पर्कविहीन रहेको बताइएको छ । यतिका दिनसम्म उद्धार टोली पुग्न नसकेको भन्दै आफन्तहरू आक्रोशित बनेका छन् ।

खाना र पानीसमेत नपाएर भीर र सुरुङभित्र फसेकाहरूको ज्यान जोखिममा परेको उनीहरूको चिन्ता छ ।