काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्।
दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले २६ अगस्ट २०२६ मा आएको बाढीबाट भएको मानवीय क्षति र ठूलो मात्राको विनाशप्रति नेपालका जनता र सरकारप्रति समवेदना व्यक्त गरेका हुन्। बाढीबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उनले उल्लेख गरेका छन्।
सिंहले विपत्तिमा ज्यान गुमाउनेहरूका परिवारप्रति भारतको साथ र सहयोग रहने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै सिंहले भारत नेपालका लागि ‘सुख दुःखको साथी’का रूपमा सधैं साथमा उभिँदै आएको बताएका छन्। उनले यस कठिन घडीमा पनि नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको र खोज, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालले गरिरहेको प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।