जिरोङमा थप वर्षाको सम्भावना, अवरोध तालमा पानीको सतह बढ्न सक्ने चेतावनी

जिरोङमा थप वर्षाको सम्भावना, अवरोध तालमा पानीको सतह बढ्न सक्ने चेतावनी

काठमाडौँ। चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै, विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा सतह चिप्लो हुने भन्दै सावधानी अपनाउन चेतावनी दिएको छ।

मौसम पूर्वानुमानअनुसार तापक्रम ४६ डिग्री फरेनहाइट (करिब ८ डिग्री सेल्सियस) सम्म झर्न सक्नेछ। दिन र रातको तापक्रममा ठूलो अन्तर हुने तथा मौसम ओसिलो र चिसो महसुस हुन सक्ने जनाइएको छ।

दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पनि प्रशासनले जनाएको छ। निरन्तर वर्षाका कारण विपद्का क्रममा सुरुमा गएको पहिरोबाट बनेको ताल (ब्यारियर लेक) मा पानीको सतह थप बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।

तालको पानी भरिएर बाहिर निस्कँदा थप विपद् निम्तिन सक्ने जोखिमका कारण चीनले यसअघि उद्धार अभियानसमेत केही समयका लागि स्थगित गरेको थियो।

यसअघि आएको पहिरो र बाढीका कारण नेपाल–चीन सीमास्थित जिरोङ बन्दरगाह क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। थप वर्षाको सम्भावनाले उद्धार तथा राहत अभियानमा थप चुनौती उत्पन्न हुन सक्ने चिन्ता बढेको छ।