काठमाडौँ । चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेवाका दुईवटा वाई-२० विमान ५० टन सामग्री, ४ जना सुरुङ उद्धार विशेषज्ञ, उद्धार उपकरणहरू लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपालस्थित चिनियाँ राजदूतावासले जनाएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए। मन्त्री महावीर पुनले संकटका बेला चीन सरकारले देखाएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।
चीनको चेङ्दु शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन घण्टाको उडान भरी दुई विमान नेपाल आएको चिनियाँ दूतावासले जनाएको छ। विमानहरूमा पाल, कम्बल, स्लिपिङ ब्याग, खाध्य सामग्री र प्राथमिक उपचार किटहरू गरी ५० टन तौल बराबरका कुल १३,२०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।
हालसम्म रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ७३४ जनाको मृत्यु र २ हजार ४९८ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।