काठमाडौं । चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेपछि दोस्रो चरणको ठूलो विपद्को जोखिम बढेको छ । त्यहाँ अबका तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान छ ।
योसँगै पहिरोले थुपारेको माटोबाट बनेको अस्थिर प्राकृतिक बाँधका कारण जोखिम थप बढेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले सार्वजनिक गरेको पछिल्लो ‘ड्रोन फुटेज’मा अघिल्लो पहिरोले बनाएको भूभागमा नयाँ ताल बनिरहेको देखिएको छ । ग्याइरोङ नाकानजिकै सीमाको नेपालतर्फ बनेको यो बाँधयुक्त ताल निरन्तर फैलिरहेको देखिएको सीसीटीभीले जनाएको छ ।
नयाँ तालको अवस्था र जोखिम
प्रारम्भिक अनुमानानुसार, उक्त तालमा हाल करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । र, पानी ‘ओभरफ्लो’ हुन थालिसकेको छ । अबका तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने प्रक्षेपण गरिएको छ । यसले प्राकृतिक बाँध फुट्ने जोखिम बढाएको छ ।
प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण अब उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण हुने सीसीटीभीले जनाएको छ । चिनियाँ सेनाका स्थानीय कमान्डर चेन सीलाई उद्धृत गर्दै सीसीटीभीले पहिरोको निरन्तर जोखिमलाई मध्यनजर गर्दै केही सैन्य टोलीलाई कमान्ड सेन्टरमा तयारी अवस्थामा राखिएको जनाएको छ ।
सेनाका अधिकारी चेनसहित विज्ञले सडकहरू ठाडो भीरका किनारमा रहेकाले जुनसुकै बेला पहाडी संरचना खस्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले थप ठूलो लेदोसहितको पहिरो आउन सक्ने जोखिम समेत औँल्याएको सीएनएनले जनाएको छ । सोही कारण नयाँ बनेको अस्थायी तालको बाँध फुटेमा वा ओभरफ्लोको बहाव तीव्र भएमा तल्लो तटीय क्षेत्रमा अर्को ठूलो बाढी तथा लेदोसहितको बहाव आउन सक्ने जोखिम रहेको जनाइएको छ ।