काठमाडाैं। नयाँ आर्थिक वर्षको पहिलो दिनमै धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ। साउन १ गते सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक उच्च अङ्कले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ७९ दशमलव ७४ अङ्कको छलाङ मार्दै दुई हजार ६७७ दशमलव ५४ को बिन्दुमा पुगेको छ।
यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ को बिन्दुमा पुगेको छ। त्यस्तै, समग्र बजारको उतारचढाव देखाउने फ्लोट सूचक ५ दशमलव ४५ अङ्कले बढेर १८४ दशमलव ०३ र सेन्सेटिभ फ्लोट सूचक ४ दशमलव १३ अङ्कले बढेर १५८ दशमलव ५६ को बिन्दुमा पुगेका छन्।
बजारमा उत्साह फर्किएसँगै कारोबार रकममा पनि निकै राम्रो चहलपहल देखिएको छ। आज दिनभरिमा विभिन्न कम्पनीका कुल एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद-बिक्री भएको छ। आज कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने एउटा उपसमूहको सूचकमा मात्र गिरावट आएको छ। समग्र बजारमा आज कुल २५९ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको मूल्य घटेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस सुखद सुरुवातका बीच आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन्। अर्कातर्फ, बजार सकारात्मक रहे पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रोफाइनान्स र आरबिबि लगायतका कम्पनीका लगानीकर्ताहरूले भने गुमाउनुपरेको छ। नयाँ आर्थिक वर्षको पहिलो दिनको यो सुखद सुरुवातले आगामी दिनका लागि लगानीकर्ताहरूमा सकारात्मक उत्साह जगाएको छ।