नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न परराष्ट्र मन्त्रालयको आग्रह, पश्चिम एसियामा रहेका नेपाली सुरक्षित

नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न परराष्ट्र मन्त्रालयको आग्रह, पश्चिम एसियामा रहेका नेपाली सुरक्षित

काठमाडौँ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यलाई पुनः दोहोर्‍याउँदै उक्त क्षेत्रमा कुनै पनि किसिमका गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भनिएको विषयप्रति नेपालले कूटनीतिक माध्यमबाट आफ्नो कडा आपत्ति जनाइसकेको जानकारी दिए ।

सरकारले विशेषगरी भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार वा सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको र यस विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको स्पष्ट पारेको छ ।

२०८३ वैशाख २० गते नै यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको स्मरण गराउँदै मन्त्रालयले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकार पूर्णतया स्पष्ट र अडिग रहेको सन्देश दिएको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा अवस्था र त्यहाँ कार्यरत नेपालीहरूको हितका बारेमा नियमित निगरानी भइरहेको जनाएको छ । प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हालसम्म सामान्य रहेको र उनीहरूको सुरक्षाका लागि मन्त्रालयले उच्च सतर्कता अपनाएको बताए।

मन्त्रालयमा स्थापित इमर्जेन्सी कन्ट्रोल रुममार्फत सञ्चालित हटलाइनहरू अझै पनि सक्रिय रहेको र विभिन्न माध्यमबाट नेपाली नागरिक तथा उनीहरूका परिवारसँग सम्पर्क भइरहेको छ । पछिल्लो ४८ घण्टामा कुनै नयाँ समस्या वा सम्पर्क नआए पनि मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्ना संयन्त्रहरूलाई तयारी अवस्थामा राखेको छ ।

त्यस्तै, इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रियाका सम्बन्धमा पनि मन्त्रालयले विशेष जानकारी दिएको छ । इरानको वर्तमान जटिल परिस्थिति र त्यहाँको आन्तरिक न्यायिक एवं कानुनी प्रक्रियाका कारण रिहाइमा केही समय लाग्ने देखिएको भए पनि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयको भनाइ छ ।

यस विषयमा इरानको परराष्ट्र मन्त्रालयबाट नियमित अपडेट प्राप्त भइरहेको र नेपाल सरकारले पीडित परिवारसँग निरन्तर समन्वय गरिरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । समग्रमा सरकारले सीमा सुरक्षा र वैदेशिक रोजगारीमा रहेका नागरिकको रक्षालाई आफ्नो प्राथमिकतामा राख्दै कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाएको छ ।