घरमै बसे पछि इन्टरनेट प्रयोकर्ता ३० प्रतिशतसम्मले वृद्धि

घरमै बसे पछि इन्टरनेट प्रयोकर्ता ३० प्रतिशतसम्मले वृद्धि

काठमाडौँ : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को त्रास र नेपाल सरकारको आग्रहले मानिसहरु घरमा बस्ने क्रम बढेको छ । त्यसले गर्दा इन्टरनेट प्रयोकर्ताहरुमा ३० प्रतिशतसम्मले वृद्धि भएको छ । त्यसले गर्दा इन्टरनेट ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको छ । बिगत तीन दिनयता इन्टरनेट प्रयोकर्ताहरुमा वृद्धि आएको हो ।

‘केही दिनयता इन्टरनेट ब्यान्डविथको खपत २५–३० प्रतिशत बढेको छ,’ उनले भने, ‘जसका कारण सेवाप्रदायकलाई माग धान्न गाह्रो हुने स्थिति छ ।’ कोरोना त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको, संक्रमणबाट बच्न मानिस घरमै बस्न थालेको र धेरै कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएपछि ब्यान्डविथ खपत बढेको सेवा प्रदायकको विश्लेषण छ । इन्टरनेटमा कोभिड–१९ प्रभाव परेपछि सेवा प्रदायकहरूको बैठकले शुक्रबार उपभोक्तालाई संयमित भएर इन्टरनेट प्रयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।

‘ब्यान्डविथ खपत यसैगरी बढ्ने हो भने हाम्रो नेटवर्कले माग धान्दैन,’ उनले भने, ‘उपभोक्तालाई आवश्यकबाहेकका भिडियो, गेम डाउनलोड नगर्न आग्रह गर्दै सूचना जारी गर्ने तयारी छ ।’ शनिबार वा आइतबारसम्म यस्तो सूचना जारी गरिने भट्टले जानकारी दिए । ‘सबै सेवा प्रदायकको आआफ्नै नेटवर्क क्षमता छ । सोहीअनुसार उनीहरूले ग्राहक बनाएका हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा नेटवर्कको क्षमता बढाउन सकिन्न ।’ वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जैन पनि तीन दिनयता ब्यान्डविथको माग ३० प्रतिशत बढेको बताउँछन् ।

‘हरेक दिन १० प्रतिशत ब्यान्डविथको माग बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामी नेटवर्क विस्तार गर्न सक्दैनौं । प्रयोगकर्ताले संयमित भएर प्रयोग गर्नुको विकल्प छैन ।’ राति ८ देखि १२ बजेसम्म इन्टरनेटको गति सुस्त हुन सक्ने उनको अनुमान छ । ‘प्रायः सेवा प्रदायकले भारतबाट ब्यान्डविथ ल्याइरहेका छन् ।

भारतमा पनि माग अपुग भएकाले थप गर्न गाह्रो छ,’ उनले भने । इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताको घरमा इन्टरनेट बिग्रिए अनलाइनबाट गर्न सकिने जति समाधान गर्ने तर घरघरमा गएर मर्मत नगर्ने निर्णय गरेको भट्टले बताए । उपभोक्तालाई अनलाइनमार्फत इन्टरनेटको भुक्तानी गर्न पनि आग्रह गर्ने निर्णय भएको उनले जनाए ।