सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि काँग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने

सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि काँग्रेसले  देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाण्डौ : नेपाल ट्रेड युनियन काँग्रेसले आम श्रमजीवीलाई सामाजिक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउने र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

ट्रेड युनियन काँग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा व्यवस्था भएअनुसारको अनौपचारिक र स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षाका योजना लागू हुन नसकेको जनाएको छ । यही मंसिर ५ र ६ गते काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय परिषद्का विशेष प्रस्ताव सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्कर आचार्यले अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकहरूका लागि सुरक्षा योजना सञ्चालन गराउन सरकारलाई दबाब दिने बताउनुभयो ।

नेपालको संविधानको मर्म र भावना विपरीत मौलिक हकका रूपमा स्थापित ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजी गर्ने अधिकारलाई सङ्कुचित गर्ने मनसायले सरकारले विभिन्न कानून ल्याउन लागेको भन्दै ध्यानाकर्षण भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

टे«ड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले विद्यमान श्रम ऐनमा व्यवस्था भएको श्रम सम्बन्ध समितिको गठन, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य समितिको गठनलगायत न्यूनतम श्रम मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकार तथा रोजगारदातासँग माग गर्नुभयो । साथै उहाँले द्वन्द्वका क्रममा मारिएका शिक्षक तथा श्रमिकहरूको परिवारलाई निवृत्तिभरण र विस्थापितहरूको रोजगारीमा पुनः बहालीका लागिसमेत सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।