आज सार्क राष्ट्रको कोरोनाविरुद्धको भिडियो वार्ता, प्रधानमन्त्री ओली सहभागी हुने

आज सार्क राष्ट्रको कोरोनाविरुद्धको  भिडियो वार्ता, प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं: आज(आईतबार) हुन गइ रहेको कोरोनाबारे सार्क उच्चस्तरीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका हुन् । उक्त भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा हुनेछ।

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनेछन्।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।