निर्वाचित भएको चार वर्षपछि मात्र पदाधिकारी र विभाग गठन

निर्वाचित भएको चार वर्षपछि मात्र पदाधिकारी र विभाग गठन

बागलुङ : नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गर्नुभएको हो ।

सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गर्नुभएको हो । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गर्नुभएको छ । शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गर्नुभएको थियो । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ ।

सभापतिले २८ विभाग पनि गठन गर्नुभएको छ । काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताउनुभएको थियो । जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो ।