गुटको भेला रोक्न डा. कोइरालालाई देउवा पक्षको दबाब

गुटको भेला रोक्न डा. कोइरालालाई देउवा पक्षको दबाब

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलनहरु रोकिएका बेला गुटको भेला गर्दै हिँडेको भन्दै नेता डा.शेखर कोइरालालाई काठमाडौं फर्किन निर्देशन दिएको छ ।

कांग्रेस कार्यकर्ता भेटघाट गर्ने क्रममा गोरखा पुगेका डा. कोइरालालाई सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रवक्ता विश्वप्रकाश शर्माले सबै भेला बैठक रोकेर काठमाडौं फर्किन भनिएको स्रोतले बताएको छ ।

अर्को वर्ष हुने कांग्रेसको १४ औं महाधिवेशन नेताहरुलाई लागिसकेको छ । डा शेखर कोइराला सभापतिका दाबेदार हुन् । उनले देशभर पुगेर कार्यकर्ता भेटघाट गरिरहेका छन् । यही सिलसिलामा उनी शुक्रबार गोरखा पुगेका हुन् ।

गोरखामा शुक्रबार कांग्रेसका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिका सभापति, भातृ संगठन, स्थानीय तह र वडा सभापतिहरुलाई पार्टीको नयाँ विधानबारे जानकारी गराउन छलफल कार्यक्रम थियो । कोइराला उक्त कार्यक्रममा सहभागी हुन शुक्रबार पोखराबाट गोरखा पुगेका हुन् ।

कोइरालाले चैत अन्तिम साता नेपालगञ्जमा आयोजना हुने भनिएको नेपाल प्रेस युनियनको अधिवेशन रोक्न नहुने बताएपछि देउवा पक्ष उनीप्रति आक्रोशित बनेको स्रोतले जनाएको छ ।

सरकारले सभा सम्मेलनहरु नगर्न भनेपछि प्रेस युनियनको अधिवेशन पनि रोकिँदैछ । पार्टीले कोरोनाविरुद्धको अभियानमा सरकारलाई सहयोग गरेर औपचारिक कार्यक्रम रद्द गरेका बेला केही नेताले गुटका भेला गर्दै हिँडेपछि मौखिकरुपमा तत्काल काठमाडौं फर्किन निर्देशन दिइएको देउवा निकट स्रोतले बतायो ।
केन्द्रीय कार्यालयले डा.कोइरालालाई सभा सम्मेलनहरु नगर्ने भनी पार्टीले जारी गरेको परिपत्रबारे पनि सम्झाएको छ । प्रवक्ता शर्माले भने डा. कोइरालालाई भेला बैठकमा हिँड्दा कोरोनाको संक्रमणबाट जोगिने उपायबारे पनि कार्यकर्तालाई बताउन आफूलाई सुझाव दिएको बताए ।

कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले पनि कोइरालालाई पार्टी केन्द्रको सर्कुलर सम्झाएको स्रोतले बतायो ।तर, गोरखाका कांग्रेस नेताहरुले भने डा। शेखर कोइराला जिल्लामा नआए पनि पूर्वनिर्धारित कार्यक्रम नरोकिने भएकाले रोक्न निर्देशन दिइनु असान्दर्भिक भएको बताएका छन् ।