प्रधानमन्त्रीलाई ज्वरो आएपछि रगत र पिसाब जाँचिँदै

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ केही दिन लम्बिन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको एक चिकित्सकले सेतोपाटीलाई बताए।

अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उनलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज नगरिएको हो, ती चिकित्सकले भने उनको रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। कतिपय रिपोर्टहरू आउन समय लाग्छ। त्यही भएर केही दिन बसाइँ लम्बिन लागेको हो।

चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न खोजिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।

कतिपय अवस्थामा सामान्य ज्वरो आउँदा सिटामोलले ठीक हुने भए पनि प्रधानमन्त्रीको संवेदनशिलतालाई ध्यानमा राखेर रगत र पिसाबको परीक्षण गराइएको चिकित्सकहरूको भनाइ छ । एक दुइटा अतिरिक्त जाँच गर्नु परेको र सामान्य खालको ज्वरो आएकोले हामीले अस्पतालमा राखेका हौं, उनले भने, भर्खरै नयाँ मिर्गौला राखिएकोले थप संक्रमण नहोस् भनेर आइसियुमा नभई विशेष निगरानीमा राखिएको हो।

प्रधानमन्त्री बालुवाटारमा गएपछि भीडभाड हुने आशंकाले गर्दा समेत अस्पतालमै राखिएको ती चिकित्सकको भनाइ छ। बालुवाटारमा गएपछि संक्रमण भएमा फेरि अस्पताल ल्याउँदा थप समस्या हुन सक्ने भएकाले उनलाई अस्पतालमा राखिएको हो। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीलाई आइतबार वा सोमबारतिर मात्रै डिस्चार्ज गर्ने तयारी छ।