कोरोनाको त्रास : संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग

कोरोनाको त्रास : संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदहरुको माग


काठमाडौं : प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलनु भन्दा पहिलै सावधानी अपनाउन संसद, स्कुल र सार्वजनिक यातायात बन्द गर्न माग गरेका छन् ।

विहीवार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाको संक्रमण फैलनु भन्दा पूर्व नै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘संसद अहिले पनि निरन्तर चलाइरहेको छ । जहाँ भीडभाड हुन्छ त्यहाँ संक्रमण हुने खतरा हुन्छ । स्कूलहरु बन्द गर्नुर्पयो’ उनले भने,‘फैलिहाल्यो भने हामीसँग केही पूर्वाधार छैन यसलाई रोक्न, अमेरिका युरोपले त उडानहरु, यातायात रोकेका छन् हामीले चलाइरहेका छौं ।’

कोरोनाको संक्रमण फैलियो भने नेपालले नियन्त्रणमा लिन नसक्ने र धेरै मानिसहरुको ज्यान जाने हुँदा पूर्व सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै सावधानी आउनुपर्ने बताए ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन् । उनले पूर्व तयारी गर्नुपर्नेमा नेपालमा भाषण मात्र भइरहेको बताइन् ।

संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् ।

‘अमेरिकाले युरोपमा लण्डनबाहेकका फ्लाइटलाई रद्द गरिसकेको अवस्था छ, भारतले पनि आजसम्म बाहिर रहेका भारतीयहरु आउन पाउने भोलिदेखि आए क्वारेन्टाइन १४ दिन बस्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्था रहेको बताइन ।