कार्यसूचीबाट हट्याे कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

कार्यसूचीबाट हट्याे कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

काठमाडौं : प्रतिनिधिसभाको बैठक ११ बजे सुरु भएको छ। तर, बैठकको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय अन्तिममा हटाइएको छ।

नेपाल-भारता सीमा समस्या समाधानका लागि कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो। तर, संसद सचिवालयले बैठक सुरु हुनै लाग्दा अन्तिममा आएर कार्यसूचीबाट सो कार्यसूची हटाएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरेको थियो। अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहे पनि समय अभावका कारण आजका लागि सारिएको थियो। अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।