काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन्। आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन्।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको छ ।
स्रोतका अनुसार, प्रसाईंको तर्फबाट १९ जना वार्तामा सहभागी छन् । भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ ।
प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।
यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।