काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११ औं महाधिवेशनमा समयको मागअनुसार नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका छन् । काठमाठौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विज्ञानको युगले नयाँ नेतृत्वको माग गरेकाले नेतृत्व फेरेर जानुपर्ने विषयमा प्रष्ट हुनुपर्ने बताए ।
उनले भने– ‘समयको महत्व बुझ्नुपर्छ, पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ । जतिसक्यो छिटो नयाँले काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ।
ज्ञवालीले पुराना पिँढीका नेताहरु कहिलेसम्म रहने ? भन्दै प्रश्न गरे । ‘अरुको उदाहरण दिएर हुँदैन हामीले नयाँ उदाहरण विकास गरौं न नयाँ नेतृत्वलाई दिएर । माओवादीको हिंसात्मक अभियानलाई हामीले नयाँ ढंगले निकास दिएका थियौं नि ।’ ज्ञवालीले भने ।
ईश्वर पोखरेल व्यक्तिलाई नभएर नयाँ नेताका रुपमा अघि सारिएको ज्ञवालीले बताए । ‘अध्यक्ष केपी ओलीको विषयमा हाम्रो यही आलोचना हो । सामुहिक नेतृत्व नै उन्नत लोकतन्त्रको नमुना हो, एकल नेतृत्व सहज चल्न सक्दैन । हाम्रो पार्टीमा सामुहिक नेतृत्व भएन, नीति होइन नेता प्रधान भयो ।’ ज्ञवालीले भने ।उनले नीतिको आधारमा सबै चल्नुपर्ने बताए ।
‘आलोचना नभई नेतृत्व सुध्रन सक्दैन भन्ने विषयमा प्रष्ट हुनुपर्छ । मार्क्सवादमा आलोचना हुन्छ, पार्टी सिद्धान्तमा आचोलना लागू भएन, त्यसैले नयाँ नेतृत्व हामीले खोजेका हौं,’ ज्ञवालीले भने, ‘यो धर्तीमा कमी नभएको मान्छे कोही हुँदैन तर हरेक कमजोरी सच्याउने प्रणाली अघि बढाउन नयाँ नेतृत्व अघि बढाएका हौं । करेक्सन बिना पार्टीको विकास हुँदैन, ओलीको नेतृत्वमा धेरै राम्रो काम भएका छन् तर कमजोरी पनि छन् ।’
‘जेन-जी आन्दोलनका क्रममा २३ गते उठेका जायज मागको समर्थन गर्नुपर्ने ज्ञवालीले बताए ।
उनले भने ‘जेन-जीले उठाएका माग हाम्रा पनि माग हुन् तर २४ गते विध्वंश भयो । यो निकै ठूलो क्षतिको कारण खोजिनुपर्दछ किनकि हाम्रो नेतृत्वमा सरकार थियो, सबै दोष अरुलाई लगाएर हुँदैन । मेचीदेखि महाकालीसम्म यति ठूलो विरोध कसरी भयो ? हाम्रा कमजोरी त सच्याउन पर्यो नि ।’
पार्टीलाई एक बनाउने, अन्य वामपन्थीसँग एकता गर्न सक्ने र देशलाई जोगाउन सक्ने नेतृत्वको खोजी गरेको ज्ञवालीले बताए ।