काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताएका छन् । धनगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बेलामा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य रहेको बताए । उनले आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न आग्रह गरे।
प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे । गणतन्त्र स्थापनापश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाई थियो। ‘सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,’– प्रचण्डले भने ।
प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको दाबी गरे । एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन प्रचण्डले आग्रह गरे । ‘अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो,’– प्रचण्डले भने ।
देशव्यापी चर्चामा रहेको जेन–जी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई नरसंहारका रूपमा चित्रित गरे । युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्याउँदै उनले सरकारको बल प्रयोग गलत भएको बताए । उनले राजनीतिक नेतृत्व तथा अभिभावकहरूलाई आत्मालोचना गर्नुपर्ने बताए । ‘हामीले आफ्नै छोराछोरी, नाति–नातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौँ। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर–परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ,’– उनले भने ।
उनले जेनजी युवाहरू बिस्तारै सही अभिभावक पहिचान गर्दै नेपाली कम्युनिष्ट पार्टीमै केन्द्रित हुन थालेको पनि दाबी गरे । प्रचण्डले देश केही महिना अघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै भदौ २६ गते राति ‘गणतन्त्र खारेज हुनसक्ने’ सम्मको चर्चा चलेको स्मरण गराए । सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि आफू र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए ।