विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो, नियमितबाहेक अरू कुनै विकल्प छैन: रञ्जित कर्ण

विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो, नियमितबाहेक अरू कुनै विकल्प छैन: रञ्जित कर्ण

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन नसके लोकतन्त्रमाथि ठूलो प्रहार हुने टिप्पणी गरेका छन् । उनले भने,‘यो संविधान गुम्यो भने लोकतन्त्र गुम्छ, यो संविधान गुम्यो भने मुलुकको राष्ट्रियता गुम्ने सम्भावना हुन्छ । यो संविधान गुम्यो नेपालको आर्थिक र सुशासन अवरुद्ध हुन्छ । नेपाली कांग्रेस २१ फागुनको निर्वाचनको लागि प्रतिबद्ध छ । अस्तिको पार्टीको केन्द्रीय समितिको निर्णयबाट पनि नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनतर्फ लागिसकेको छ । कांग्रेस अब दायाँबायाँ लाग्दैन भन्ने सन्देश दिइसकेको छ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस निर्वाचनको लागि अब एक ढिक्का भएर अघि बढ्ने बताए । उनले अब कांग्रेसको नीति र नेतृत्वको कुरा नियमित महाधिवेशनबाट मात्रै सम्पन्न हुने बताए । उनले भने,‘नियमित महाधिवेशनबाहेक अरू कुनै विकल्प छैन । यो सम्भव छ । नियमित महाधिवशेन भएपछि पार्टीको नेतृत्व पनि चेञ्ज हुन्छ । चरित्र पनि चेञ्ज हुन्छ ।’ अहिलेका पदाधिकारी साथीहरुले आफू कसरी बन्ने भनेर सोचेको कारण जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे बहस हुन नसकेको उनको आरोप छ ।

उनले भने,‘अहिलेपनि समय छभने नियमित महाधिवेश गरोस । विशेष महाधिवेशन भयो भने एउटा युवा पुस्तालाई निषेध हुन्छ । पूरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन हुने भएकाले वडा तहदेखि केन्द्र तहसम्म कुनै खास परिवर्तनको आभाष हुँदैन । विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो ।’ उनले महामन्त्रीहरुलाई जिम्मेवार बन्न सुझाव दिए ।

उनले भने,‘तपाईंहरु अब नेविसंघको महामन्त्री होईन नि, तपाईंहरु नेपाली कांग्रेसको महामन्त्री हो । यो थर्काउने, घुर्काउने र धम्काउने कुरा छोडेर नेपाली कांग्रेसलाई मूलधारमा कसरी लिएर जाने भन्ने कुरा उहाँहरुको जिम्मेवारी पनि हो । उहाँहरु बाहिर मिडियामा बोल्नुहुन्छ, म चुनाव उठ्दिनँ भन्नुहुन्छ, यस्तो वाहियात कुरा नगर्दा हुन्छ ।’