आज एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै

आज एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुँदै

काठमाडौं। नेकपा (एमाले)ले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्दैछ। अहिले बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा एनभीएफ फोर्सको घोषणा गर्न लागेका हुन् ।

पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि फोर्स घोषण गर्नुअघि एमाले कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी रहेको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेको भनाइ छ । फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य राखिएको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए ।

सो कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए । उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्धेश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो । उक्त फोर्ससहित अब एमालेमा २४ जनसंगठन रहने भएको छ ।