देश जोगाउने जिम्मेवारी दलको काँधमा

देश जोगाउने जिम्मेवारी दलको काँधमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी दलहरूकै काँधमा भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले २१ फागुनमा निर्धारित निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आयोगमा दर्ता भएका १ सय २५ राजनीतिक दलका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार छलफल गरेकी हुन् ।

राजनीतिक दलहरूसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको जायज आक्रोश र दशकौंदेखिको राजनीतिक बेथितिविरुद्धको प्रदर्शनको जगमा भएको आन्दोलनलाई देश बनाउने अवसर र जोगाउने जिम्मेवारीका रूपमै बुझेर निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले एमालेलाई लक्षित गर्दै राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्य छोडेर निर्वाचनको तयारीमा लाग्न आग्रह गरिन् ।

कार्कीले भनिन्, ‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहो¥याउन खोजेको पुष्टि हुन्छ ।’

लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै भएको बताउँदै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना निर्वाचनको परिकल्पना असम्भव भएको बताइन् ।

१० मंसिरभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएर राष्ट्रप्रतिको राजनीतिक प्रतिबद्धताको कसीमा जाँचिन प्रधानमन्त्री कार्कीले दलहरूलाई आग्रह गरिन् ।

निसानामा ‘हेटस्पिच’
प्रधानमन्त्री कार्कीले राजनीतिका नाममा ‘हेटस्पिच’ र द्वेषपूर्ण अभिव्यक्ति नदिन दलहरूलाई आग्रह गरिन् । धेरै कुरा त बोलीले पनि बिगारेको जस्तो लाग्छ भन्दै प्रधानमन्त्री कार्कीले राजनीतिक माहोल बिगार्न र आक्रोशित पार्न ‘हेटस्पिच’ र द्वेषपूर्ण शब्दावलीहरूको प्रयोगकर्ताहरूको हात छ भन्दै तिनीहरूउपर कारबाहीको संकेत गरिन् । संस्कार सम्झेर बोल्न सचेत गराउँदै प्रधानमन्त्री कार्कीले ‘हेटस्पिच’ र द्वेषपूर्ण अभिव्यिक्तिउपर सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई सहयोग गर्ने पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रचारप्रसारको समय घटाइने पनि बताइन् । विगतका निर्वाचनहरूमा देखिएको अनावश्यक खर्च, स्रोतसाधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्ने बताउँदै प्रचार–प्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाइने कार्कीले बताइन् ।

निर्वाचनसँगै सुशासन
सरकारले निर्वाचनसँगै सुशासनलाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । जवाफदेहिताका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सशक्त बनाई सार्वजनिक निकायका कामकारबाहीको निष्पक्षतामाथि सूक्ष्म निगरानी गरेको बताउँदै भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढेको बताइन् ।

सरकारले विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सुधारमा भएका ठोस कार्यप्रगतिहरू नियमित रूपमा सार्वजनिक गर्ने बताउँदै मेलम्ची खानेपानी आयोजना, बञ्चरे डाँडामा फोहोर व्यवस्थापन प्रभावित क्षेत्रका विवाद तथा राहदानी संकट समाधानमा महत्वपूर्ण पहल गरिएको बताइन् ।