काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । उनले बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो माग गरेका हुन् ।
ओलीले अहिलेको सरकारले धेरै धाक र धक्कु लगाउने गरेको भन्दै आलोचा गरे । उनले भने,‘दुर्गा प्रसाईंले एउटा भिडिओ निकालिदिए, दिउँसो भिडिओ निस्कियो, मध्यरातमा गएर समातिए, म सोध्न चाहन्छु–यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? यत्तिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईंले सोध्दैनन् होला त्यसको जवाफ, अरुले त देशभरिका जनताले त सोध्छन् नि । एआई त होईन होला ? अनि ? प्रश्न उठायो कसैले, भएकै भिडिओ त देखायो, त्यस प्रश्नको जवाफ दिनुपर्दैन ? यतिसारो तपाईंहरुको ताउरमाउर किन थियो ? दुनियाँ शोक र पीरमा बसेको बेलामा तपाईंहरु त षड्यन्त्रको तानावाना बुन्दै हुनुहुँदो रहेछ, गिरफ्तार गरेर समस्याको समाधान गर्नुहोस । म सरकारलाई भन्न चाहन्छु–दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नुहोस । बोल्नै नपाईने पनि हुन्छ ? मानवअधिकार आयोगले भनिसकेको छ, बोलेवापत थुन्नुहुँदैन ।’
सो क्रममा उनले प्रसाईंको बचाउसमेत गरेका थिए । पक्राउ पर्नुअघि अघिल्लो दिन प्रसाईंले पत्रकार सम्मेलनमार्फत वर्तमान सरकारको भण्डाफोर गरेका थिए ।
प्रसाईंले एउटा भिडिओ समेत सार्वजनिक गरेका थिए । जहाँ प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालको जेनजी आन्दोलनको क्रमको भूमिकामाथि प्रश्न उठाईएको थियो । उक्त भिडिओलाई लिएरसमेत ओलीले बचाउ गरे । प्रसाईंले भएकै कुरा भिडिओमा देखाएको भन्दै ओलीले बचाउ गरेका थिए ।