काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो।
पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले रिट दायर गरेका हुन् । उक्त रिटको पेशी यही मंसिर ७ गतेको लागि तोकिएको छ।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त भएका विभिन्न् ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो।
सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत कात्तिक १६ गते सरकारको उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशविपरीत भोलिपल्टै प्रधानमन्त्री कार्कीले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीको सो निर्देशनपछि केही राजदूतहरु अहिले मन्त्रालयमा हाजिर गरी फर्किने गरेको बताइन्छ ।