काठमाडाैं। नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति ६३ वर्षको उमेरमा निधन भएको छ। मुटुमा समस्या देखिएपछि एक साताअघि काठमाडौंको केएमसी (मेडिकल कलेज) अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
उनलाई यसअघि पनि स्वास्थ्य समस्या देखिएको थियो। गत जेठ १४ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जन्मकैदको मुद्दामा सफाइ दिएपछि नक्खु कारागारबाट मुक्त हुनासाथ उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यसबेला उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो।
पूर्वमन्त्री आलममाथि इँटाभट्टामा मानिसहरूलाई जिउँदै जलाएको आरोपमा रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सो घटनाको सुरुवात २०६४ साल चैत २७ गतेको राति भएको थियो। संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको फरहदवास्थित उनका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विष्फोट हुँदा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएका थिए।
उक्त घटनापछि विस्फोटमा घाइते भएकालाई लुकाउन उनले आफ्नै इँटाभट्टामा जलाएको आरोप परिवारका सदस्यहरूले लगाएका थिए। पीडित पक्षले २०६५ साल वैशाख ९ गते आलम, उनका भाइ महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरी दर्ता भएपछि अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसबेला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। पीडित पक्षले त्यस निर्णयविरुद्ध महान्यायाधिवक्ताको कार्यालयमा गुहार माग्दा पनि जिल्लाको निर्णयलाई नै सदर गरिएको थियो। अन्ततः २०६९ साल जेठमा सर्वोच्च अदालतले सो निर्णय खारेज गरी थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थियो।
पछि २०७३ सालमा पीडित पक्षले प्रहरी रौतहटविरुद्ध अदालतको आदेश नमानेको भन्दै मानहानि मुद्दा दायर गरेको थियो। त्यसको करिब तीन वर्षपछि २०७६ असोजमा प्रहरीले उनलाई राजापुरबाट पक्राउ गरेको थियो।
अनुसन्धानपछि २०७६ कात्तिक १८ गते उनीविरुद्ध ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अदालतमा दायर गरिएको थियो। त्यसअनुसार २०८१ साल वैशाखमा रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
उनले सो निर्णयविरुद्ध उच्च अदालत वीरगञ्जमा पुनरावेदन गरेका थिए। त्यसैमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले गत जेठ १४ गते उहाँलाई निर्दोष ठहर गर्दै सफाइ दिएका थिए।
राजनीतिक जीवनमा सक्रिय रहँदै आएका पूर्वसांसद आलम नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक रहेका थिए। उनको निधनले नेपाली कांग्रेस परिवारले एक अनुभवी र दृढ नेताको रूपमा गुमाएको बताइएको छ।