काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउने ब्यवस्थाका लागि ४ वटा कानून सुधार गर्न सुझाव दिएको छ।
आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई जानकारी दिएको हो।
निर्वाचन आयोगको रायले सरकारलाई विदेशमा रहेका मतदातालाई मताधिकार दिन अध्यादेश ल्याउन बाटो खुलेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ विदेशमा रहेका मतदातालाई कसरी सहभागी गराउने, त्यसका लागि कानूनी, प्राविधिक र व्यवस्थापकीय सबै पक्षमा सरकारले अध्ययन गरिरहेको बेला निर्वाचन आयोगले कानुनमा आवश्यक पर्ने सुधारका विषय सरकारलाई सुझावका रूपमा पठाएको हो।
यसअघि, गृह मन्त्रालयले आयोगसँग निर्वाचन कानूनका बारेमा सुझाव मागेको थियो।