निकोलस भुसाल पक्राउ

निकोलस भुसाल पक्राउ

काठमाडाैं।  निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो। उनी गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ परेका हुन्।

उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ। उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रहरीले उनलाई निगरानीमा राखेको थियो।

हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन्।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए। भुसालले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ।