माओवादीमा आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदै : हरिबोल गजुरेल

माओवादीमा आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदै : हरिबोल गजुरेल

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादीमा फेरि विभाजनको नाटक दोहोरिन लागेको टिप्पणी गरेका छन् । माओवादीसहित विभिन्न ८ दल र समूहबीच एकताको घोषणा भएपछि जनार्दन शर्माले माओवादी पार्टी पूनर्गठन गर्ने घोषणा गरेको बेलामा उनले यस्तो बताएका हुन् ।

उनले फेशबुकमार्फत लेखेका छन्–‘माओवादी पार्टी पटक–पटक विभाजनको सिकार बन्यो। तर ती विभाजनहरू विचारगत कारणले होइन—व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्त्वसँगको असमझदारीका परिणाम हुन्। यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन्। प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन्। विडम्बना के छ भने—आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ। यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो।’

उनले अहिले जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वापमन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरु निर्माण गरेको दाबी गरेका छन्। उनले अघि भनेका छन्–‘२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी-मशाल, चौ.म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल-बीचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र संगठनात्मक आधार तयार गर्याे, जसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गरायो। अब, २०८२ सालको जेन–जी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ।’

उनले समाजवादतर्फको युगीन यात्राको लागि भएको भनेका छन् । उनले थप भनेका छन्–‘इतिहास फेरि दोहोरिँदैछ—तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो । अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ ।’