काठमाडौं। नेकपा (माओवादी केन्द्र) मा आस्थारत युवाहरुले स्थापना गरेको जेन–जी रेडफोर्सले आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले एजेण्डाहरु सार्वजनिक गरेकी हुन् । संयोजक तिमल्सिनाले जेन–जी रेडफोर्स अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर अगाडि बढिरहेको बताईन् ।
उनले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि आजसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको बताईन् । उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचारी रहेको र उनीहरुलाई पनि जेल हाल्न सरकारलाई सुझाव दिईन् ।
‘माओवादी केन्द्रमा भ्रष्टाचारी नै छैनन् भन्दिन म । छन् । ती भ्रष्टाचारीलाई यो सरकारले छानोस् । उनीहरुको गल्ती देखिएको खण्डमा, उनीहरु दोषी देखिएको खण्डमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि जेल हाल्न सक्नुहुन्छ । रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउँछ । रेडफोर्सले कुनै पनि भ्रष्टाचार सहने छैन,’– उनले भनिन् ।
संयोजक तिमल्सिनाले रेडफोर्सले आफ्नै पार्टीबाट सरसफाइको अभियान सुरु गर्ने बताईन् । उनले माअोवादीलाई क्यान्टोनमेन्ट घोटलाको बारेमा विभिन्न समयमा प्रश्न उठाइएको भन्दै छानविनको माग गरिन् । आफ्नो बुबा पनि पूर्व जनमुक्ति सेना रहेको बताउँदै उनले यदि उनी दोषी देखिए पनि नछाड्न उनले आग्रह गरिन् । जेन–जी रेडफोर्स अब २०६४ को माओवादीभन्दा पनि सक्षम भएर आउने उनको भनाइ छ ।
‘माओवादी केन्द्रलाई क्यानटोनमेन्ट घोटला भनेर निकै आवाज उठाउँछन् । क्यान्टोनमेन्ट घोटलामा को–को छन् ? समितिमा त्यतिबेला को–को बसेका थिए ? उनीहरुमाथि छानविन होस् । मेरो बुबा पनि त्यतिबेलाको जनमुक्ति सेना हो । यदि दोषी तल्लो दर्जाका कर्मचारी पाउनुहुन्छ भने पनि जेलमा जाकिदिनुस् । भ्रष्टाचार गर्ने मेरा बा रहेछन् भने पनि तिनलाई पनि भ्रष्टाचारको मुद्दामा जेल हाल्नुपर्छ । रेडफोर्स २०६४ को माओवादी केन्द्र भन्दा पनि राम्रोसँग आउने छ,’– उनले भनिन् ।
साथै, उनले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतङ्कवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरुले जेन–जीहरुलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको बताईन् । रेडफोर्सले माओवादी केन्द्रको मात्र नभएर देशभरीकै भ्रष्टाचारको शंखनाद गर्ने संयोजक तिमल्सिनाले बताईन् ।
‘रेडफोर्स माओवादी केन्द्रको मात्र नभएर हामी देशभरीको भ्रष्टाचारको शंखनाद गर्ने छौं । त्यसको लागि प्राण त्याग्न परे पनि स्मृति तिमल्सिना तयार छ । हामी मृत्यु अंगाल्न आएका हौं । यो देशको भ्रष्टाचार सक्नका लागि गोली खान पनि हामी तयार छौं,’– उनले भनिन् ।
जेन–जी रेड फोर्स नेपालका केन्द्रीय सदस्य सुवास अधिकारीले जेन–जी पुस्ता सक्षम र अब्बल रहेको बताए । उनले अब गाउँ, बस्ती, वडा, टोल हुँदै जेन–जी पुस्ताले केन्द्रीय स्तरसम्म हस्तक्षेप गर्ने बेला आएको बताए । आफूहरु आफ्नै पार्टी, नेतृत्व, सरकार र व्यवस्थाको प्रतिपक्ष बनेर देशका हरेक जिल्लाबाट एकजुट भएको पनि उनले बताए ।
‘हाम्रो युवा पुस्ताले चाह्यो भने हामी विद्रोह पनि गर्न सक्छौं । भत्काउन पनि सक्छौं र भत्केको चिजलाई हामी बनाउन पनि सक्छौं । जेन–जी पुस्ता अबल छ, सक्षम छ,’– उनले भने ।
जेन–जी रेडफोर्सका सदस्य नवीन बस्नेतले सिंगो माओवादी पार्टीलाई बलियो बनाउनका लागि रेडफोर्स गठन भएको र अब सबैभन्दा पहिला पार्टीलाई सुधार गरिने बताए । उनले सबैभन्दा पहिला माओवादीबाटै छानेर उनीहरु भ्रष्ट छन् भने जेल हाल्न आग्रह गरे । उनले माओवादीको एजेण्डा नै जेन–जीको एजेण्डा रहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्न जेन–जीहरुलाई आग्रह गरे ।