भयरहित ढंगले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध

भयरहित ढंगले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी छन्।

नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले आज पाटनको मंगलबजारमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन्। उनले देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन निर्वाचनको विकल्प नभएको पनि बताइन्।

उनले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको स्मरण गर्दै यसमा सहयोग गर्न आग्रह गरिन्। सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने पनि बताइन्।

प्रधानमन्त्री कार्कीले जेन–जीको भावनाअनुसार सरकारले काम गर्ने भएकाले समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका उत्तिकै हुने भएकाले सरकारसँग सहकार्य गर्न आह्वान गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले तत्कालीन समयमा नेपाली जनतालाई गरेको सहयोग प्रसंसनीय भएको बताइन्। ‘आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो ।’ उनले भनिन्।

यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि सबैको सुझावअनुसार काम गर्न सरकार तयार रहेको पनि उनले बताइन्।