काठमाडौं। नेतृत्व छाड्नुपर्ने पार्टीभित्रको चर्को दबाबलाई आफ्नै जिद्दिले कमिटी बैठकबाटै कमजोर पार्न सफल भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सक्रियतालाई थप तीव्रता दिएका छन्।
‘जेन-जी’ प्रदर्शन उग्रह भएपछि भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर केही दिन सेनाको सुरक्षामा बसेका ओली सार्वजनिक भएसँगै राजनीतिक गतिविधिलाई तीव्र पारेका हुन्।
राजनीतिक कार्यक्रमहरूमा अध्यक्ष ओलीले ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका घटनाबारे विभिन्न तथ्य पनि सार्वजनिक गर्दै आएका छन्। अध्यक्ष ओलीले आइतबार सम्पादकहरूसँग छलफल गरे। सम्पादकहरूसँगको छलफलमा पनि अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनका विषयमा केही खुलासासमेत गरेका छन्।
निवर्तमान प्रधानमन्त्रीसमेत रहृका अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनका क्रममा आफूले राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षामा बस्दा मोबाइल ‘सिज’ गरिएको सम्पादकहरूसँग खुलासा गरेका छन्।
प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै आफूले मोबाइल पाएको सुनाउँदै सम्पादकहरूसँगको संवादमा अध्यक्ष ओलीले भनेन्नु, ‘मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ। मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ। म लोकतन्त्र, लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ।’
उनले आफ्नो मोबाइल भदौ २७ गते मात्रै फिर्ता पाएको जानकारी दिए। नेपाली सेनाले ओलीलाई भदौ २४ गते प्रधानमन्त्री कार्यालय बालुवाटारबाट हेलिकप्टरमा उद्धार गरेको थियो। अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले बनाएको छानविन समितिमा बयानका लागि नजाने घोषणासमेत गरेका छन्।
आफू गौरीबहादुर कार्की नेतृत्वको छानविन समितिमा बयानका लागि नजाने स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन। यो हुन सक्दैन। आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएकोले लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहन्छु।’
पूर्व–प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको जिकिर गरे। ‘जेन–जी’ आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गरेका ओलीले आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्दै भने, ‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो। ‘
जेन-जी’ हरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीनवटा माग मात्रै थिए- भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने। उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म यिनै तीन कुराका लागि लडिरहेको थिएँ।’
उनले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पुनः दोहोर्याएका छन्। उनले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूकै आचरणमाथि प्रश्न उठाएका छन्।
भित्रभित्र खाने प्रवृत्तिलाई कटाक्ष गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरेका ओलीले भने, ‘भ्रष्टाचारको विरोध सजिलो छ, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ। एकदिन छानविन गर्ने दिन आउँछ। अहिले चर्को स्वरले दबाउन खोजिएको हुनसक्छ, तर त्यो दिन आउँछ । आगो लुकाउन सकिन्छ, धुवाँ लुकाउन सकिँदैन।’ अध्यक्ष ओलीले देश विकासको गति ‘जेन-जी’ आन्दोलनपछि कमजोर र अस्थिर बनेको दाबीसमेत गरेका छन्।