सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमबाट जोगायौं

सेनाको दाबी :  जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमबाट जोगायौं

काठमाडौं। नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो। 

सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन्। सेनाका अनुसार  टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन।

आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ। आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन ः नियन्त्रणमा लिइसकेको छ।

यसैगरी नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई सेनाले रोकेको सहायक रथी मनोज थापाले बताए।

उनले भने, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन र पेट्रोल लिएर आएकाहरूलाई हामीले रोक्यौं, विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धूमिल हुने थियो।’

जेनजी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ।