जेन-जीहरुले पार्टी खोल्नुपर्छ, त्यसपछि कांग्रेस, एमाले र माओवादीमा पनि सुधार आउँछः वरिष्ठ अधिवक्ता डा.पण्डित

जेन-जीहरुले पार्टी खोल्नुपर्छ, त्यसपछि कांग्रेस, एमाले र माओवादीमा पनि सुधार आउँछः वरिष्ठ अधिवक्ता डा.पण्डित

काठमाडौं। वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जेन–जीहरु पार्टी खोलेर एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दे उनले जेन–जी आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न पनि उनीहरुले पार्टी खोलेर अगाडि बढ्नुपर्ने बताएका छन् । जेन–जीहरुले पार्टी खोलेर अगाडि बढ्दैगर्दा कांग्रेस, एमाले र माओवादीमा पनि सुधार आउने उनको भनाइ छ ।

‘आजको आवश्यकता जेन–जी आन्दोलनबाट जुन उपलब्धी प्राप्त भयो, अब जेन–जीहरुले एउटा पार्टी बनाउनै पर्यो । यो जेन–जी समूहको पार्टी बनिसकेपछि अनि नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीमा पनि सुधारको कुरा आउँछ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता पण्डितले एक महिनामै जेन–जी आन्दोलनको रापताप घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । अबको निर्वाचनमा पनि पुरानै नेताहरु चुनिएर आउने सम्भावना बढ्दै गएको बताए । उनले भने, ‘जुनबेला आन्दोलनको रापताप थियो, जेन–जीहरु माथि–माथि थिए । पार्टीका नेताहरुले टाउको उठाउन सकेका थिएनन् । त्यही पनिमा पनि युवाहरुले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्यो । तर, आज एक महिना भएर रापताप घट्दैगएपछि नेताहरुले बोल्न थाले । पुरानै नेता आउने सम्भावना छ ।’

उनले अब युवा शक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङलगायतका व्यक्तिहरु आएर अहिलेको सरकारलाई सहयोग गरेर शान्तिपूर्ण तरिकाले निर्वाचनमा जानुपर्ने उनले बताए ।