प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव

प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव

काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको मुद्दा छाडेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जेन–जीहरुले प्रधानमन्त्री कार्कीलाई तत्काल घेरेर ‘गेटआउट’ भन्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री कार्की जेन–जीहरुको एजेण्डामा नै नरहेको चुनाव गराउनेतर्फ लागेको उनले बताए । जे्न–जीहरुको मुख्य माग नै शासकीय स्वरुपमा परिवर्तन रहेको भन्दै उनले चुनावभन्दा अरु केही पनि गराउन सक्दिनँ भन्ने प्रधानमन्त्री कार्कीलाई पदमा बसिराख्ने छुट नरहेको बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको नाममा १७ हजार मान्छे मारेर जनतालाई धोका दिएजस्तैगरी जेन–जी आन्दोलनमा पनि धोका भएको उनको टिप्पणी छ ।

‘जेन–जीको एजेण्डा चुनावमा जाने त कतै पनि छैन । तर, प्रधानमन्त्रीजीले सोझैं भन्दिनुभयो– मेरो सरकार चुनावी सरकार । अरु केही पनि सक्दिनँ, शासकीय स्वरुप पनि परिवर्तन गर्न सक्दिनँ रे । के खान बनेको त प्रधानमन्त्री ? जेन–जीले त्यो बेलामा उनलाई तत्काल घेरेर ‘प्रधानमन्त्री गेटआउट’ भन्न सक्नुपर्थ्यो । मुद्दा नै सम्बोधन गर्ने, यत्रो आन्दोलन, यतिका मान्छे मरे । फाइदा के भयो त । यो त उही प्रचण्डले १७ हजार मान्छे मारेर आए, हामीलाई फाइदा के भयो त ? यस्तो धोका दिन पाइन्छ ?’ प्रश्न गर्दै उनले भने ।

उनले जेन–जीको आन्दोलनमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई फाइदा भएको बताए । बालेनले समर्थन गरेको मान्छे प्रधानमन्त्री र आफ्नै कानूनी सल्लाहकार मन्त्री बनाएको डा.दीक्षितले बताए । जेन–जी आन्दोलनको कारण देश विध्वंशमा गएको, राजनीतिक अस्तव्यस्त भएको र जनताहरुले केही पनि नपाएको उनले बताए । अहिलेकै अवस्थामा चुनावमा गइयो भनेदेखि यिनै नेताहरु चु्निएर आउने र जेन–जीलगायत सबैलाई खत्तम पार्ने बताए ।

जेन–जी आन्दोलन शुद्धीकरणका लागि भएको भए पनि अन्तिममा गएर सत्ताप्राप्तिमा टुङ्गिएको उनले बताए । नागरिक समाजका अगुवा डा.दीक्षितले प्रधानमन्त्री कार्कीले जेन–जीको मुद्दा खत्तम पारिसकेको बताउँदै अब जेन–जी आन्दोलनको एजेण्डालाई बचाउनका लागि भए पनि ३ वटा मन्त्रालय उनीहरुलाई दिइनुपर्ने बताए । साथै, सेनाले मनोनित गरेको २ जना मान्छेलाई पनि मन्त्री बनाइनुपर्ने उनले बताए । अहिलेको सरकारले शान्ति सुरक्षा दिन नसक्ने उनको दाबी छ । जेन–जीले नै बनाएको सरकारले हिजो माइतीघर मण्डलामा भएको जेन–जीहरुको प्रदर्शनमा धरपटक र पक्राउ गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए ।

 

संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको बताउँदै उनले अब कार्यकारी प्रधानमन्त्रीमा जानुको विकल्प नरहेको बताए । कुनै हालतमा पनि यही संसदीय व्यवस्थामा चुनावमा जान नहुने बताए । अब निर्वाचनमा जाने हो भने कार्यकारी निर्वाचन हुनुपर्ने र संसदीय चुनाव कुनै पनि हालतमा स्वीकार्य नरहेको बताए । ‘कार्यकारी बनाऔं, मन्त्रीहरु बाहिरबाट आउँछन् । सानो संसद् बनाएर अगाडि बढ्ने कोशिस गर्नुपर्यो । यिनीहरुले यो इलेक्सन जिते भनेदेखि सबैभन्दा पहिलो टार्गेट मिडिया नै हुन्छ,’– उनले भने ।