काठमाडाैं। भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दमन गर्ने र कलिला युवाहरुमाथि गोली हान्नेहरुलाई कारबाही गरिनुपर्ने माग चर्को रुपमा उठेको छ। हिजोबाट सामाजिक सञ्जालमा हामी नेपालीका संयोजक सुदन गुरूङले ‘एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक र मडर्रर’ ट्रेण्ड चलाएका छन्।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी अनुसन्धान र कारबाही गरिनुपर्ने जेन–जी आन्दोलनका अगुवाहरुको माग छ। घट्ना घटेको एक महिना हुन लाग्दासमेत अहिलेसम्म गोली चलाउन आदेश दिने र दमन गर्नेहरुमाथि कारबाही नभएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि यसअघि प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेटेर युावहरुमाथि गोली चलाउन आदेश दिनेहरुमाथि कारबाहीमा किन ढिलाई भनेर चासो राखेको कुरा बाहिर आएको थियो। बालेनपनि तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि पक्राउ गरी अनुसन्धान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताइन्छ ।
सुरुमा बालेनले नै जेन–जी आन्दोलनमाथि दमन गर्ने र युवाहरुमाथि बर्वर गोली हान्नेहरुलाई कारबाही गर्नुपने माग गरेका हुन् । अहिले जेन–जी आन्दोलनका सहजकर्ता तथा हामी नेपालीका संयोजक सुदनले पनि आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाहीको जोडदार माग गरेका छन् ।
उनले हिजो मध्यरातिसम्म ओली, लेखकसहितलाई पक्राउ गर्न जाहेरी दर्ताको लागि प्रयास गरेका थिए । प्रहरीले प्रधानमन्त्रीको तहबाट लिखित निर्देशन आएमात्रै अघि बढ्न सकिने जवाफ दिएको थियो । लगत्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग सिंहदरबारमा छलफल गरेका थिए ।
सिंहदरबारलगत्तै उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यो घट्नाको बारेमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको छ । आयोगले बयान लिन नै बाँकी रहेको छ । यस्तो अवस्थामा पक्राउ गर्न थालियो भने अनुसन्धान प्रक्रिया अवरुद्ध हुनसक्ने चर्चासमेत चलेको छ ।