रविप्रति पूर्व राष्ट्रपति भण्डारीको सद्भाव, सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर फसाइएको निष्कर्ष

रविप्रति पूर्व राष्ट्रपति भण्डारीको सद्भाव, सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर फसाइएको निष्कर्ष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। रास्वपा प्रवक्ता झाले भण्डारी निवास भंगालमा पुगेर भण्डारीसँग भेटवार्ता गरेका हुन्। भण्डारी र झाबीच भएको करिब २ घण्टा लामो छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ।

रास्वपा प्रवक्ता झाले बताएअनुसार भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले सहकारीको विषय राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइएको धारणा व्यक्त गरेकी थिईन् । रविलाई दुःख दिइएकोमा आफू असन्तुष्ट रहेको र उनीप्रति आफ्नो सद्भाव रहेको पनि भण्डारीले बताएको प्रवक्ता झाले सुनाए। ‘सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु,’– भण्डारीको भनाइ उदृत गर्दै रास्वपा प्रवक्ता झाले भने।

प्रवक्ता झाका अनुसार भण्डारीले पढेलेखेका नयाँ पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको पनि बताएकी थिईन् । अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज रहेको र आफूहरु राजनीतिमा आउँदा निकै गाह्रो परिस्थिति पार गरेको पनि भण्डारीले झालाई स्मरण गराईन् । ‘अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ,’– भण्डारीको भनाइ थियो ।