शिक्षक महासंघद्वारा आन्दोलन घोषणा, विगतको भन्दा कडा र सशक्त हुने चेतावनी

शिक्षक महासंघद्वारा आन्दोलन घोषणा, विगतको भन्दा कडा र सशक्त हुने चेतावनी

काठमाडौं। नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भदौ ९ गतेदेखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो। अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने महासंघको चेतावनी छ।

महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

त्यसैगरी, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने, भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शनलगायतका कडा कार्यक्रम ल्याउने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँग आफूहरुले गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको बताए । उनले अबको आन्दोलनबारे बोल्दै भने, ‘हिजो २०८१/८२ सालमा भएको भन्दा कडा र दवाबपूर्ण आन्दोलन हामी गर्छौं ।’