काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ।
राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढा नीलकण्ठ जानेछन्। त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने छन्।
सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन्। प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्।
त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेकोे छ।


