भारतीय प्रधानमन्त्रीले इपिजीको प्रतिवेदन बुझ्ने समय उपलब्ध गराउनुपर्छ : एमाले नेता भट्टराई

भारतीय प्रधानमन्त्रीले इपिजीको प्रतिवेदन बुझ्ने समय उपलब्ध गराउनुपर्छ : एमाले नेता भट्टराई

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता विशाल भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन बुझ्ने समय माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको सन्दर्भमा इपिजीको प्रतिवेदन बुझ्ने समय माग गरिनुपर्ने उनको भनाई छ ।

भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले सिमा विवाद समाधानको विषय पनि उठाईनुपर्ने बताए । उनले भारतलाई ७९औं स्वतन्त्र दिवसको अवसरमा शुभाकामना दिँदै भारतको उत्तरोउत्तर प्रगतिको कामना गरे ।

उनले भने,‘हाम्रो प्रधानमन्त्री यो कार्यकाल सुरु गरेको १४औं महिनापछि भदौको अन्तिममा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भारत भ्रमणको विषयमा अहिले चासो र सरोकार राखिएका छन् । उहाँले छिट्टै चीन भ्रमण पनि गर्दै हुनुहुन्छ।’

उनले भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार नेपाल भ्रमणमा आउने र उनको भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेण्डा तय हुने विश्वास दिलाए । उनले भने,‘आइतबार भारतीय विदेशसचिव नेपाल भ्रमणमा आउँदै हुनुुहुन्छ । भ्र्रमणको एजेण्डा तय हुँदैछ । अहिले हामी प्रारम्भिक चरणमा छौं । औपचारिक रुपमा एजेण्डाको रुपमा प्रवेश गरिएको छैन । अहिले नै चर्चा गर्नु अलिक छिटो हुनसक्छ ।’

भट्टराईले नेपालको भारतसँग राम्रो सम्बन्ध रहेको स्मरण गराए । उनले भने,‘हामीबीच १८ सय किलोमिटर सिमाना छ । तीन तिरको सिमाना छ । भारतवेष्ठित सम्बन्ध अहिलेका प्रधानमन्त्रीले नै अघिल्लो कार्यकालमा चीनसँग पारवाहन सम्झौता गरेर एकाधिकार तोडिएको छ । भारतसँग पेचिला विषय छन्, ती समाधान हुनुपर्छ । भारत नेपालको पूरानो मित्र हो । सांस्कृतिक, व्यापारिक हिसाबले पूरानो मित्र हो ।’

पहिलो कार्यकालमा प्रधानमन्त्री ओलीले भारतले लगाएको नाकाबन्दी नतोडिएसम्म भारत भ्रमणमा जाँदिनँ भनेर अडान लिएको र पछि भारतले नाकाबन्दी तोडेपछिमात्रै ओली भारत भ्रमणमा गएको पनि उनले स्मरण गराए । उनले प्रधानमन्त्री ओलीकै पालामा संविधानको अनुसूचिमै नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी संधिवानको अनुसूचिमा सामेल गरेर नक्सा राखिएको बताए ।

उनले भारतसँग नेपालको व्यापार ६० प्रतिशत रहेको तथ्यांक पेश गरे । अहिले भारतमा ७ लाख नेपालीहरु रोजगारीको क्रममा रहेको र ९ लाख भारतीय नागरिक नेपालमा काम गरिरहेको उनको भनाई छ । उनले भने,‘भारतसँग हाम्रो गहिरो सम्बन्ध छ । अब पूराना समस्या यथावत राख्नुहुँदैन । भारतीय प्रधानमन्त्री मोदीले इपिजीको प्रतिवेदन बुझ्न समय उपलब्ध गराउनुपर्छ । नेपालको तर्फबाट समय माग गर्न चाहन्छु । लिपुलेक, कालापानी, लिम्पियाधुार नेपालको भूमि हो । तथ्यले प्रमाणित गरेको छ । यसपटक त्यो विषय अगाडि बढाउनुपर्छ । भारतले त्यो स्विकार गर्नुपर्छ ।’

यो विषय उठाउँदा भारतसँगको सम्बन्ध बिगार्ने कुरा हो कि भन्ने चर्चा नेपालमा हुने गरेको उल्लेख गर्दै उनले यो विषय राष्ट्रिय हितको विषय भएको बताए । उनले भने,‘यहाँ मनमा ठीक कुरा गर्यो भन्ने, तर केही मान्छेले भ्रम पार्नकोलागि उग्र कुटनीति गर्यो भन्ने गरेको सुनेका छौं । यो उग्रता होईन । राष्ट्रिय हितको कसीमा राखेर हेरिनुपर्छ । भारतीय विदेशसचिव आएपछि एजेण्डा तय हुन्छन् ।’

फरक प्रसंगमा उनले कांग्रेस–एमालेको सत्ता सहकार्य आगामी ०८४ को निर्वाचनसम्म कायम हुने विश्वास दिलाए । उनले अबको ११ महिनापछि प्रधानमन्त्री ओलीले सत्ताको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

उनले भने,‘अबको ११ महिनापछि प्रधानमन्त्रीले शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुहुन्छ । यो विषय हाम्रो ७ बुँदे सहमतिको महत्वपूर्ण बुँदा हो । यसमा तलमाथि हुँदैन । हाम्रो सहकार्य २०८४ सालसम्म कायम रहन्छ । हामी ०८४ को निर्वाचनमा स्वस्थ र मर्यादित प्रतिष्पर्धा गर्न चाहन्छौं । हामी कसैसँग गठबन्धन गर्दैनौं । एक्लाएक्लै लड्छौं । तर, सहकार्य यथावत रहन्छ । चुनावपछि पनि ठूला पार्टीले म्याण्डेट लिएर सरकार बनाउनेछ ।’

उनले वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । तर, नेपालमा अहिले अति नकारात्मकता फैलाउन प्रवृत्ति हाबी भएको भन्दै त्यसप्रति गुनासो पोखे । नकारात्मक प्रचार गर्दा गणतन्त्रको विरुद्धमा जाने शक्तिलाई मलजल पुगेको उनको दाबी छ । उनले भने,‘अब गालीगलौचको संस्कार बन्द गर्नुपर्छ । गठबन्धन टिकाउनु ठूलो कुरा होईन । राजनीतिक स्थायित्व नेपालको विकासको लागि आवश्यकत्ता छ । विगतको तुलनामा अहिले राम्रो भएको छ । योभन्दा राम्रो विकल्प छैन ।’