काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय लगातार भेटवार्तामा जुटेका छन्। गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले हिजो (सोमबार) भने सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका थिए।
भेटमा दुवै दलका अरु नेताहरुको पनि सहभागिता थियो। हिजोको भेटपछि दुई नेताले पार्टी एकताको विषयमा गृहकार्य गरेको कुरा बाहिरिएको छ। अहिले दुवै नेताले पार्टीभित्र संकट व्यहोरिरहेका छन्। माधव नेपाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। उनलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ । पार्टीकै नेताहरुले उनलाई लगातार प्रहार गरिरहेका छन्।
नेतृ रामकुमारी झाँक्रीले त अब मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी छिन्। उनको अभिव्यक्ति पार्टीभित्र बहसको विषयसमेत बनेको छ। उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । तर, झाँक्री आफ्नो अभिव्यक्तिबाट दायाँबायाँ भएकी छैनन्। पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि माधव नेपालले तत्काल नेतृत्वबाट राजीनामा दिनुपर्ने मत राखेका छन्।
भ्रष्टाचारको मुद्दा लागेको कारण स्वयम नेपाल र नेपालपक्षधर नेताहरुले उनको खुलेर रक्षा गर्ने अवस्था छैन। त्यही भएर नेपाल अहिले पार्टीभित्रै संकटमा छन् । उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीभित्र आन्तरिक कहल चुलिएको कारण टेन्शनमा रहेको चर्चा छ । उपमहासचिव जनार्दन शर्माले उनलाई सार्वजनिक रुपमै च्यालेञ्ज गरेका छन् ।
कम्युनिष्ट नेताहरुबाट प्रधानमन्त्री बनेकाहरुमध्ये मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको र भ्रष्टाचार गरेको भनेर जनार्दनले बोलेपछि प्रचण्ड उनीसँग नराम्रोसँग बिच्किएका छन् । अहिले माओवादीमा प्रचण्ड भर्सेस जनार्दन गरेर सामाजिक सञ्जालमा नै बहस छताछुल्ल भएको छ । जनार्दनले पनि हिजो आफूअनुकुल व्याख्या नगर्न आग्रह गरेका छन् ।
यही सन्दर्भमा प्रचण्ड र माधव नेपालले भेटवार्ता बढाएका छन् । उनीहरुले समाजवादी मोर्चाको कार्यक्रम र रणनीति तय गर्न भेटवार्ता भएको भनेपनि भित्री रुपमा दुई दलबीच एकता नै मुख्य उद्देश्य रहेको खुल्न आएको छ । दुवै नेता अहिले संकटमा भएकोले त्यो संकट टार्नको लागि पनि एकता गरिहाल्नुपर्ने पक्षमा रहेको उच्चस्रोतको दाबी छ । तर, एकता गर्दा एकीकृत समाजवादीको ठूलो पँक्ति एमालेमा नै फर्किने बाटो बन्ने भएकोले नेपालले निर्णय दिन नसकेको पनि चर्चा छ ।