तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । 

वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् । यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले बताएकी थिइन् । पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो ।  

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताए । 

यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।