काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि-मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडसेडिङको भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति निकाल्दै आफ्ना प्राधिकरणले ग्राहकलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सधैँ प्रतिवद्ध रहेको बताएको छ ।‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रिमन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनी अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिकूल मौसमका कारण अवरुद्ध बिजुली पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिनरात निरन्तर काम भई अधिकांश स्थानमा यथाशीघ्र विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणको भनाइ छ । पोल ढल्ने, तार लत्रिनेजस्ता विद्युतीय संरचनामा क्षति हुँदा जनधनको समेत क्षति हुन सक्ने भन्दै सुरक्षित रहन पनि आग्रह गरिएको छ ।