काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ ।
नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् ।
‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो । त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, थेवेले भने, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ ।’
काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले जनाए । युवासंघका उपाध्यक्ष कृष्णहरि केसीले युथ समिटमा युवाका एजेन्डाका बारेमा छलफल हुने बताए । ‘युवाहरूका एजेन्डा,समस्या र सम्बोधनका बारेमा छलफल हुन्छ’, केसीको भनाइ छ ।
युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो । युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको पनि ओलीको भनाइ छ ।
२०६२-०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएकाले लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ ।