दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौँ । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

उनीहरू दुवैलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ । राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर भद्रपुरबाट पक्राउ गरेको हो ।

नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो ।

यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।