पाल्पा । पाल्पामा जारी दोस्रो तानसेन महोत्सव हुरीबतास र वर्षाका कारण प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलक्षित यही चैत २२ गतेदेखि सञ्चालित महोत्सव बुधबार (चैत २७) दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भागदौड मच्चिएको थियो । कार्यक्रममा प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकार समेत आफ्नो कला देखाउनबाट वञ्चित भए ।
असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका बालबालिकादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज (बिहीबार) सञ्चालन गर्ने आयोजकको तयारी थियो । तर, बुधबार राति ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत संरचनामा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ ।
महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार संघका अध्यक्ष विष्णुुबहादुर कार्कीले बताए । उनका अनुसार, महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।
महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् । कृषि, उत्पादन, लघु तथा घरेलु, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ्य, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटेल तथा रेन्टुरेन्टका स्टल छन् ।