रविबिनै रास्वपाको जनयात्रा

रविबिनै रास्वपाको जनयात्रा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई महिने जनयात्रा कार्यक्रम शुभारम्भ गरेको छ। चितवनको भरतपुरबाट घण्टी बजाएर ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो। शनिबार नारायणी किनारमा आयोजित कार्यक्रममा उपस्थित उपसभापति स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ताले घण्टी बजाएर अभियानको औपचारिक शुभारम्भ सुरु गरेका हुन्। 

देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरूविरुद्ध अभियान थालिएको रास्वपाले जनाएको छ। सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को शृंखला जनयात्रा भएको रास्वपाको दाबी छ। सत्तामा बसेकाहरू नसच्चिने भए सक्किन तयार हुनुपर्ने नेताहरूको भनाइ छ। रास्वपा नेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ-गाउँ र बस्ती-बस्तीमा पुग्ने उद्देश्यले सुरु गरिएको बताए।

यसअघि कार्यक्रमको शुभारम्भ सभापति रवि लामिछानेसहित नेताहरूको उपस्थितिमा गर्ने तयारी थियो। तर, अभियानको अघिल्लो दिन शुक्रबार राति सभापति लामिछाने पक्राउ परेपछि उनीबिनै रास्वपाले अभियान सुरु गरेको हो। सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार रवि पक्राउ परे पनि जनयात्रा जारी राख्ने रास्वपा केन्द्रीय सचिवालयले निर्णय गरेको थियो।

पार्टीको घोषणाअनुसार चितवनबाट जनयात्रा शुभारम्भ गर्ने निर्णय भने लामिछानेकै अध्यक्षतामा चैत १८ मा बसेको बैठकले गरेको थियो। कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति लामिछानेको उद्घोष थियो। लामिछानेले रास्वपासमेत सहभागी तत्कालीन प्रचण्ड नेतृत्वको सरकार किन ढालियो? भन्नेबारे खुलासा गर्ने बताएका थिए। गत सोमबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै लामिछानेले शनिबार चितवनमा आयोजित सभामा सरकार कसरी बन्यो? र किन ढल्यो? भन्ने रहस्य खुलासा गर्ने घोषणा गरेका थिए। ‘चितवनले मेरो लागि धेरै सहृयो, अब म त्यहाँ गएर सत्य सुनाउनेछु । मैले हिरासतमा बिताएका ८४ दिनको अनुभव र सरकारको नियत पनि खुलस्त पार्नेछु,’ उनले भनेका थिए। लामिछानेले आगामी निर्वाचनमा रास्वपाले १०१ उम्मेदवार उठाउने योजना पनि सार्वजनिक गरेका थिए।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। एक करोड धरौटीमा छोड्ने जिल्ला अदालत रूपन्देहीले दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले रविलाई थुनामा पठाउन आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो।

सुप्रिम सहकारीमा रवि, पूर्वडिआइजी छविलाल जोशी र गीतेन्द्रबाबु (जिबी) राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जिबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो। गत माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अर्याललाई फेरि कार्यवाहकको जिम्मेवारी
 

रास्वपाको कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पाएका छन्। सभापति लामिछाने पक्राउ परेसँगै शुक्रबार राति बसेको केन्द्रीय सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए। केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए। तर, कार्यकारी भूमिका फर्किएका एकसाता पनि नबित्दै उनी फेरि पक्राउ परेपछि अर्याललाई कार्यवाहक दिइएको हो।

‘बेडरुममै पुगेर पुर्जी लेख्ने अनौठो अभ्यास’
 

रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएको भन्दै आपत्ति जनाएको छ। प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको भन्दै रास्वपाले आपत्ति जनाएको हो। सभापति लामिछाने पक्राउ परेपछि बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको हो। बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्र्सना गरेको छ। साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ। पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताएका थिए।

लामिछानेलाई नियन्त्रणमा लिन घरमै प्रहरी पुगेपछि केही समय विवाद पनि भएको थियो। एक प्रहरीले अन्तिम इच्छा भन्ने शब्द उच्चारण गरेपछि विवाद सुरु भएको थियो। ‘अन्तिम इच्छा उहाँहरूसँग कुरा गर्ने थियो। कुरा गर्न दिन्छौं भइहाल्यो,’ ती प्रहरीले भनेका थिए । त्यसरी लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी दीपक खड्का थिए। त्यसपछि त्यहाँ उपस्थित अन्यले अन्तिम इच्छा भनेको के हो ? भनेर सोधेका थिए । त्यसपछि त्यहाँ डिएसपी खड्का र रविका समर्थकबीच विवाद भएको थियो । सुरुमा पक्राउ पुर्जी नै नल्याइएको भन्दै रवि र उनका समर्थकहरूले प्रश्न गरेका थिए । त्यसपछि प्रहरीले त्यहीँ बसेर पुर्जी लेखेको थियो।

रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने
 

रास्वपाका सभापति लामिछानेलाई दुई दिन प्रहरी हिरासतमै राखिने भएको छ। शनिबार बिहान रूपन्देही पुर्याइए पनि उनलाई सोमबार मात्रै पुर्पक्षका लागि कारागार चलान गरिनेछ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने रूपन्देही प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले जानकारी दिए। ‘शनिबार र आइतबार सार्वजनिक बिदा छ,’ एसपी राठौरले भने, ‘त्यसपछि बल्ल जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर कारागार चलानको प्रक्रिया अघि बढ्छ । दुई दिन उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ ।’ उहाँलाई हिरासतबाट शनिबार बिहानै यति एयरलाइन्सको जहाजमा रूपन्देही पठाइसकेको थियो ।