प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका छन् ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले बिदाई गरे । त्यस्तै नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

त्यस्तै चैत २१ गते बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुने छन् । भने चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने छन् ।